Author:

| Published:

| Updated:


कोलिंसमा GRE को पढाई सकेर फर्केपछि कोठामा मात्र के छिरेको थिए, अगाडिको टेबलमा अनौठो नाम गरेको एउटा पुस्तकमाथि मेरो नजर पुग्यो—“शान्ता चौधरी: कमलरीदेखि सभासदसम्म” | पुस्तकको नाम आफैमा मेरो ध्यान खिच्नको लागि पर्याप्त थियो| पुस्तकको बिषय-बस्तुमा सरर्सर्ती नजर डुलाउदै जादा मेरो ध्यान, त्यहाँ भित्रको एउटा अध्यायको शीर्षकमा गयो: गर्भवती भएपछिको पिडा, जसको केही अंश म यहाँ जस्ताको त्यस्तै राख्न चाहन्छु|

“उपाय केही थिएन| पुनः जलेको छाप्रो टालटुल गरि त्यही बस्न थाल्यौ| भर्खर दोस्रो पटक सुत्केरी भएकी मान्छे, खानेकुरा केही थिएन| भोकभोकै दिन बिताए| एक वर्ष अगाडी मात्रै मेरो पहिलो बच्चा जन्मिएको थियो| त्यो बेला पाँच दिनसम्म पानि मात्र खाएर बचेको स्मरणले मलाई आज पनि उत्तिकै पिडा दिन्छ| हुन त मलाई सुरुदेखि नै नुन खुर्सानी असाध्यै मन पर्थ्यो| जुन अहिले पनि उत्तिकै मन पर्छ|……| तर त्यतिबेला आफूलाई मन पर्ने त्यही नुन खुर्सानी पनि मलाई रहर नै भयो| भोको पेटका कारण दुध आउन बन्द भयो| दुध सुक्यो| दुध खान नपाएपछि बच्चा शिथिल हुदै गयो र उन्नाइसौँ दिनमा बच्चा मर्यो| बच्चाको मृत्युले मलाई साह्रै पिडा भयो| त्यो दिन सम्झदा अहिले पनि भक्कानो फुटेर आउछ|”

यो अंशले मेरो मन छोई सकेको थियो| सुत्केरी जस्तो संवेदनशील समयमा समेत पानीको भरमा मात्रको जिवनको गुजारा गर्नुपर्दा पुत्र वियोग भोग्न विवश महिला कसरी सभासदसम्म हुन पुगिन्; यी महिलाको संगर्षका दिनहरु कस्ता थिए होलान् भन्ने प्रस्न मेरो मानसपटलमा गौड बनेर रह्यो| जब मैले पुस्तकको प्रत्येक केस्राहरु केलाउन थाले, म उक्त पुस्तकमा यसरी डुब्न पुगे कि करिब १८० पृष्ठको उक्त पुस्तक लगभग चार घन्टाको एकै बसाईमा पढेर सके| यस पुस्तकको प्रत्येक अंशहरु; ति अंशहरुमा ब्यक्त लेखिकाको भोगाईका नमीठा क्षणहरुले मलाई नराम्री घोत्ल्यायो र यो पुस्तकको बारेमा नलेखी रहन सकिन|

यस पुस्तकमा, लेखिकाले आफु लगायत अन्य थरुनी महिला तथा पुरुषहरु पुर्खौ-पुर्खादेखि, नेपालको तराई समाजमा, चलनचल्तीमा रहेको कमैया प्रथा; जमिन्दारहरुले कमैया/कमलरीहरुलाई गर्ने व्यवहार; तिनीहरुले भोगेको शोषण, अन्याय, अत्याचार; कमलरी माथिको यौन-शोषण र उनीहरुको त्यसपछिको जीवन; आदिको बारेको आफ्नो भोगाई र अनुभवहरु स्पष्ट रुपमा उतारेकी छिन्| कतिपय यस्ता घटनाहरु पनि छन्, जसको बारेमा पढ्दा आङ् नै सिरिङ्ग भएर आउछ साथै “यो क्रियाकलाप मानवताको हद भित्र पर्छ र?” भन्नेजस्ता प्रश्नहरु मस्तिस्कमा निकै पटक खेल्छन्| म यस पुस्तकमा भएका केही प्रसङ्गहरु  यहाँ जस्ताको त्यस्तै राख्न चाहन्छु|

म करिब ५ वर्षकी थिए| आमा कम गर्न जाँदा उहाकै पछि लागेर जमिन्दारको घरमा जान्थे| त्यहाँ घर पुगे पछि आमाले मलाई आँगनको पेटीमा बसाल्नुहुन्थो र आफुचाहिँ काम गर्न थाल्नुहुन्थ्यो| आमाले भित्र काम गरको गरेको म बाहिर बाटै चियाउथे| किन भने मलाई फोहोरी छे भनेर भित्र जान दिदैनथे| आमा कुनबेला निस्कनुहोला भन्ने प्रतिक्षामै बित्थ्यो मेरो सिंगो दिन| जमिन्दारको छोराछोरी चुल्होको छेउमा बसेर चियाखादै लेखपढ गरेको देख्थे| म भने बाहिर एक्लै खेल्थे| बेलाबेलामा उनीहरुले खाइरहेको तातो चिया “ए थरुनी”! भन्दै मेरो जिउमा फालिदिन्थे| चियाले पोलेपछि म रुना थाल्थे| उनीहरु म रोएपछि झनै जिस्काउथे| मलाई भने झनै रुन मन लाग्थ्यो|”

       लेखिकाले आफ्नो कमलरी जीवनको सुरुवात भएपछि आफुले भोगेका धेरै दुख र पीडादायक अनुभवहरु मध्यको एक प्रसंग यस्तो छ|

“म ८ बर्षकी बालिका उठेर जमिन्दारको घरमा पुगिसकेकी हुन्थे तर उनीहरु भने कोही पनि उठेका हुदैनथे| ढोका ढक्ढक्याउँथे| केही छिनपछि जमिन्दरनी उठेर ढोका खोल्थिन्| ढोका खोलेर उनी पुन: सुत्न जान्थिन्| म भने काममा खट्थे| उही नियमित काम—घरको दैलो पोत्ने, घर-आँगनमा कुचो लगाउने र गाईवस्तुलाई खोले पकाउने, बेलुका खाएको जुठो भाँडो धोईपखाली गर्ने आदि| मैले यतिकाम गरिसकेपछि बल्ल जमिन्दारका सदस्य उठ्ने बेला हुन्थ्यो| अनि उनीहरु उठ्ने बित्तिकै चिया खादै मेरो काम निरीक्षण गर्थे| म भने खाई/नखाई काममा जोत्तिइरहन्थे|…

जाडोको काम गर्ने बेला हातको औला कठ्याङ्रगिन्थे| जमिन्दारका सबै सदस्यले खाइसकेपछि बचेको चिया कहिलेकाहीं खान दिन्थे| चियाको कपमा कठ्याङ्रगिएका औला चोप्थे| केही छिनलाई भएपनि त्यसले राहत दिन्थ्यो तर त्यो अवसर पनि सधैको लागि हुने थिएन|…| मेरो जिउमा एकसरो कपडा बाहेक केही हुदैनथ्यो| त्यसले जाडो कसरी छेक्थ्यो र| काम गर्न थाले पछि भने आङ्मा अलि न्यानो महसुस हुन्थ्यो|”

पुस्तकमा यस्तै पिडादायक अनुभवहरु प्रसस्त समेटिएका छन् जसले पाठकको ध्यान एकत्रित गर्नको लागि प्रमुख भूमिका खेल्छन्|

यसका साथै, बच्चादेखि नै विद्रोही स्वभावकी लेखिका सरकारले कमैया मुक्तिको घोषणा गर्दा पनि उनीहरुको जीवनस्तर नसुध्रिएपछि (त्यो भन्दा अगाडीबाट नै अप्रत्यक्ष तबरले लागेकी) आफु कसरी मुक्त कमैया तथा भूमिहीनको आन्दोलनमा भुमिहिनहरुको अधिकारको पक्षमा खुलेर लाग्न पुगिन; आफु उक्त आन्दोलनमा लागे बापत आफु तथा आफ्नो परिवारले कस्तो प्रकारको दुख भोग्नु पर्यो; आफुले कसरी गाउँलाई कमैया मुक्त घोषणा गरिन्; आफु बिरुद्ध जमिन्दारहरु कसरी लागि परे; आफुलाई मार्नेसम्मको योजना बनेको आदि ईत्यादी कुराहरु समेटेकी छिन्| भुमिहिनहरुको आन्दोलनको पक्षमा लाग्दा पाएको सजाय पुस्तकको एक कुनामा लेखिकाले यसरी ब्यक्त गर्छिन|

“माइती घरमा मलाई आमाबाहेक कसैले राम्रो मान्दैनथे| गाउँ त पराई भएकै थियो, घर पनि पराईझैँ भयो| पति पनि पराई झैँ हुनुभयो| आन्दोलनबाट फर्केर आउँदा सबैले मलाई गिज्याउथे| टाढैबाट गाली गर्थे| मेरो पतिलाई जाँड खुवाएर टिल्ल पार्थे| अनि मलाई पिट्न उक्साउथे| घरमा कोही लोग्ने मानिस आएको देखेपछि “उसैसँग मिलेकी छ” भनी आरोप लगाउथे| यही आरोपमा मलाई आफ्नै जेठाजुले समेत लात्तले हिर्काउथे|…| पिटाई नखाएको दिनै हुदैनथ्यो| पिट्दा-पिट्दा एक दिन त मेरो हातै पनि भाचिदिए|”

सर्वस्व गुमेको दिन” नामक शीर्षकमा आफ्नो आन्दोलन निस्तेज पार्नेको लागि आफुलाई जमिन्दारहरुले कतिसम्म दुख दिए भन्ने कुरा लेखिका यसरी प्रस्तुत गर्छिन्:

म आफुले नेतृत्व गरेको आन्दोलनमा सफल त हुदै गए तर घरको परिपाठ मिलाउन भने असफल थिए| घरमा बिचल्ली थियो| अरुको बंगुर, बाख्रा अधियामा पालेर गुजारा गर्थे| गाउँका मानिसलाई उक्साएर एक दिन जमिन्दारले अधियामा पालेको बाख्रालाई बिख खुवाएर मर्न लगायो| एकै दिन छ वटा बाख्रा मरे| बाख्रा मरे पछि मेरो सर्वस्व गुम्यो| तर म गाउँका केही मान्छेको सहयोगमा म अगाडी बढिरहे|”

यसरी अनेकौ संगर्षको बीचबाट मझिएर आएकी लेखिका विस्तारै क्रमिक रुपमा “भुमि अधिकार मंच, दाङ” कि अध्यक्ष, भुमि अधिकार मंच र सरकार बिचको वार्ता टोलीको सदस्य, रास्ट्रिय भुमि अधिकार मंचको सदस्य (२०६१ पछि) र रास्ट्रिय उपाध्यक्ष (२०६४ मा), नेकपा (एमाले) को पार्टी सदस्य हुदैराजनीतिको मुलधारमा प्रवेश गरेको र संबिधानसभाको निर्वाचन पछि आफु नेकपा (एमाले) बाट समानुपातिक कोटामा संबिधानसभाको सदस्य भएको कुरा यस पुस्तकमा उल्लेख गरेकी छिन्| आफु सक्रिय राजनीतिमा नलाग्दा र लगेपछि गरेका कामहरु, संबिधानसभा अन्तर्गत प्राकृतिक स्रोत, आर्थिक राजस्व बाडफाड समितिको सदस्य र प्राकृतिक स्रोत र साधन समितिको सदस्यको नाताले आफ्नो उपसमितिले गरेका केही कामहरु पनि यस पुस्तकमा समेट्न सफल भएकी छिन्|

गरिबी तथा शोषण हट्नको लागि शोषित वर्ग नै नेतृत्वको मुलधारमा आउन पर्ने धारणा राखेकी लेखिकाले यस पुस्तक मार्फत आफ्नो “आगामी बाटो” स्पष्ट कुदेकी छिन्|

       संबिधानसभाको सदस्य भए पश्चात आफ्नो लवाई-खवाई, बोलिचाली, रहनसहन, अशिक्षित भएको जस्ता कारणले भोग्नु परेको हेपाईहरुको बारेमा पढ्दा दया लागेर आउछ भने, त्यसपछि पढ्न, कम्प्युटर र गाडी चलाउन सिकेको जस्ता प्रसङ्गहरु पढ्दा लेखिकाको मेहेनतको कदर गर्न मन लाग्छ| त्यस्तै कतिपय प्रसंगहरु तथा अध्यायहरु जस्तै “उटूङ्ग्या काम”, “अचम्मको परिचय”, “एसपीको अंग्रेजी गाली”, “झोक्कियो कुइरे”, “केही अप्ठेरा क्षणहरु” आदि रमाइला लाग्ने र बेलाबेलामा हसाउने खालका पनि छन्| त्यसैगरी, लेखिकाले, यस पुस्तकमा, सबिधानसभाको दौरानमा गरेका विदेश भ्रमणको बारेमा पनि धेरै थोरै समेट्न सफल भएकी छिन्|

       यद्दपी केही राजनीतिक विषयवस्तुहरु जस्तै संबिधान नबन्नुको कारण, संबिधानसभाको बिघटन तथा तिनका कारणहरु, आदिजस्ता कुराहरुको बारेमा भने लेखिकाले, विस्लेषणको अभावमा, आफ्नो स्वतन्त्र धारणा बनाउन नसक्दा पुस्तकमा केही खल्लोपन थपेको छ|


Discover more from Dr. Bijesh Mishra

Subscribe to get the latest posts sent to your email.


Categories


Discover more from Bijesh Mishra, Ph.D.

Subscribe now to keep reading and get access to the full archive.

Continue Reading